संक्षिप्त परिचय

चितवनको सबै भन्दा पूर्वी क्षेत्रमा पर्ने पूर्ववत् पिप्ले, भण्डाराबीरेन्द्रनगर कोराक र लोथर गाउँ विकास समितिहरु समायोजन भै बनेको यस राप्ती नगरपालिका पहाडी र समथर भूभाग समेतको भौगालिक विविधता भएको नगरपालिका हो । यो नगरपालिका पुर्वमा मकवानपुर जिल्ला संग, पश्चिममा चितवन जिल्लाकै खैरहनी नगरपालिका, उत्तरमा महाभारत सृंखला हुदै धादिंग जिल्ला संग जोडिएको यो नगरपालिकाको दक्षिणी भूभाग भने चितवन राष्ट्रिय निकुन्जसंग जोडिएको छ । जम्मा ११२.०४ वर्ग कि.मि. क्षेत्रफल भएको नगरपालिकामा १२,०५५ घरधुरीको बसोबास रहेको छ । यस नगरपालिकाकोजनसंख्या महिला- २७,७२८ र पुरुष- ३०,३१९ गरी जम्मा ५८,१०७ रहेको छ .यस नगरपालिकाको पहाडी भूभाग लोथर, कोराकमा ५२ प्रतिशत जनसंख्या गरीबीको रेखा मुनि रहेका छन् भने समथर भूभाग पिप्ले, भण्डारा, बिरेन्द्रनगरमा ७.१ प्रतिशत गरी सरदर २९.५ प्रतिशत जनसंख्या गरिबीको रेखा मुनि रहेका छन् ।

विद्यमान अवस्थाको समीक्षा गर्दा निम्नानुसारका सबल पक्ष र दुर्बल पक्षहरुलाई केलाउदै अघि बढ्ने क्रममा यस नगरपालिकाको विकास र नगरवासीहरुको समृद्धिको निम्ति निम्नानुसारका अवसर र चुनौतिहरु रहेको पाइन्छ :

१ सबल पक्ष

स्थानीय प्रदेश र संघको निर्वाचन पछि नगरपालिकामा प्रदेशमा र संघमा निर्वाचित जनप्रतिनिधिको व्यवस्था हुनु, सीमित कर्मचारीहरुबाट कार्यहरु सम्पन्न गर्न सक्नु, करीब ८५ प्रतिशत विकास बजेट खर्च गर्न प्राप्त सफलता, आर्थिक व्यवस्थापनमा कम्प्युटर सफ्टवेयर, वडा कार्यालयहरुको केन्द्र सर्वसम्मत रुपले गर्न सक्नु जस्ता राम्रा सबल पक्षहरु रहेका छन् ।

२ कमजोर पक्ष

कार्यालय व्यवस्थापन सम्बन्धी नगरपालिकाको भवन नहुनु, वडा कार्यालयको आफ्नो भवन नहुनु, योजना तथा प्राविधिक शाखाको र स्टोर जस्ता पूर्वाधारको व्यवस्था गर्न नसक्नु कमजोरीको सामना गर्नु परेको छ ।  त्यस्तै, इन्जिनीयर सहितको प्राविधिक तथा दक्ष कर्मचारीको अभाव कारण शत प्रतिशत योजनाहरु सम्पन्न गर्न नसक्नु जस्ता कमजोरी व्यहोर्नु परेको छ ।  त्यसै गरी, स्थानीय स्रोतबाट प्राप्त हुने राजस्व नगरपालिकाको मुख्य स्रोत भएकोमा वैज्ञानिक पद्धति अवलम्बन गरी एकीकृत सम्पति कर लागु गर्न नसक्नु, तोकिएका कर दस्तुरहरु पनि पुरै संकलन गर्न नसक्नु, दक्ष कर्मचारीको अभावमा कम्प्युटर विलिंग गर्न नसक्नु, वैज्ञानिक ढंगबाट राजस्व प्रक्षेपण गर्न नसक्नु जस्ता राजस्व व्यवस्थापन सम्बन्धी कमजोरीको सामना हामीले गर्नुपरेको छ ।

३ अवसरहरु:

भौगोलिक विविधताको कारण कृषिमा विविधिकरण गर्न सक्ने हुनु, नगरपालिकाको पहाडी क्षेत्र मौसमी बेमौसमी तरकारी खेति, बाख्रापालन, कुखुरापालन, माहुरीपालन, जडीबुटी खेती साथै अर्गानिक खेति प्रणालीको निम्ति उपयुक्त हुनु चितवनको सबै भन्दा अग्लो कमिनुली डाडाँ विशाल नोकुगुफा रहेकोले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न अत्यन्त सम्भावना हुनु र समथर भूभाग विभिन्न खाद्यबाली उत्पादन, तरकारी खेति, मत्स्यपालन, पशुपालन,  कुखुरापालन, फलफुल खेतिको निम्ति उपयुक्त हुनु, र पुर्व-पश्चिम लोकमार्ग यसै नगरपालिका भएर पार हुनु, लोथर राप्ती जस्ता नदीनालाहरु, विभिन्न सामुदायिक बनहरु र चितवन राष्ट्रिय निकुन्ज राप्ती एकता मध्यवर्ती सामुदायिक बन, पानीसराढाप पिपुल्स पार्क, परेवाकोट पर्यटकीय क्षेत्र रातोमाटे डाडा, बागदेवी सांस्कृतिक संग्राहालय, विशाल नाग पोखरी पर्यटकीय क्षेत्र, शिखर इको टुरिजम लगायतका क्षेत्रहरु पनि यसै क्षेत्रमा रहनु यस नगरपालिकाको विकासको निम्ति अवसरको रुपमा रहेका छन् ।

त्यसैगरी, नयाँ नगरपालिका भएको कारण व्यवस्थित नगर योजना निर्माण गर्ने अवसर, बजेट निर्माणमा स्वायत्तता, स्थानीय तहको निर्वाचन पछि नगरवासीमा छाएको उत्साह आदि कुराहरु अवसरको रुपमा रहेका छन् ।

 

४ चुनौतीहरु: पहुँचको हिसाबले विकट उत्तरी भूभाग, पटक पटक आइरहने बाढीपैरो, खेतीयोग्य जमिनको खण्डीकरण, कृषि उत्पादनको उपयुक्त बजार व्यवस्थापनको अभाव, ढुंगा, बालुवा, वनपैदावार जस्ता प्राकृतिक स्रोतहरुको दोहन, कृषिमा रासायनिक मल र विषादीहरुको अधिक प्रयोग, उत्तरी भूभागमा सिंचाईको अभाव, पहाडी भूभागमा सडक यातायातको कमी, सामुदायिक विद्यालयहरुको निम्ति स्रोत र दक्ष जनशक्तिको अभाव र शिक्षाको गुणस्तरमा कमी, राष्ट्रिय निकुन्जबाट वस्तीहरुमा जंगली जनावरबाट पुर्याउने क्षति, अव्यवस्थित बसोवास आदि यस नगरपालिकाको विकासको निम्ति चुनौती रहेका छन् ।

त्यसै गरी आवश्यकता अनुसार कर्मचारी व्यवस्थापन हुन नसक्नु,धेरै किसिमका कानुन तथा कार्यविधिहरु, संघ र प्रदेशसँग नबाझिने गरी बनाउनु पर्ने भएकोले, प्रदेशको सबै किसिमको कानुन वनि नसकेको अवस्था स्थानीय तह सम्बन्धी ऐन कानुनको अभाव र संविधानमा उल्लेखित साझा अधिकारका सम्बन्धमा अस्पष्टता,  सीमित स्रोतको उपलव्धता र असीमित आवश्यकता बीच तालमेल नहुनु, पारदर्शीता र सुशासन कायम गर्ने, विपन्न वर्गको जीवनस्तरलाई नगरको औसत भन्दा निक्कै कम हुनु, विकासका क्षेत्रहरुको प्राथमिकीकरण र नगरको व्यवस्थित विकास गर्ने जस्ता नीतिगत चुनौतीहरु रहेका छन् ।